नयाँदिल्ली । भारतले आज आफ्नो ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय समारोहको नेतृत्व गर्दैछन्। यस वर्षको स्वतन्त्रता दिवस राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठसँगै मनाइएकाले समारोहलाई विशेष महत्त्व दिइएको छ।
पहिलोपटक लालकिल्लामा आयोजना हुने राष्ट्रिय समारोहमा ‘वन्दे मातरम्’लाई औपचारिक रूपमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ। समारोहमा भारतको युवा शक्तिको ऊर्जा, क्षमता र भविष्यप्रतिको आशालाई विशेष प्राथमिकता दिइएको छ। सन् २०४७ सम्म भारतलाई ‘विकसित भारत’ बनाउने लक्ष्यमा युवा पुस्ताको योगदानलाई समेत समारोहमा प्रस्तुत गरिँदैछ।
प्रधानमन्त्री मोदी लालकिल्ला पुगेपछि रक्षामन्त्री राजनाथ सिंहलगायत वरिष्ठ अधिकारीहरूले उनको स्वागत गर्नेछन्। त्यसपछि प्रधानमन्त्रीले सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका जवान सम्मिलित गार्ड अफ अनरको निरीक्षण गर्ने कार्यक्रम छ।
लालकिल्लाको प्राचीरमा प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराउनेछन्। त्यस क्रममा १७२१ फिल्ड ब्याट्रीबाट २१ तोपको सलामी दिइनेछ। झण्डोत्तोलनसँगै भारतीय वायुसेनाका हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनेछ। त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीको सम्बोधनपछि करिब २,५०० राष्ट्रिय क्याडेट कोर (एनसीसी)का क्याडेट तथा ‘माई भारत’का स्वयंसेवकहरूले ‘वन्दे मातरम्’ र राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, दिल्लीमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
स्वतन्त्रता दिवस समारोहलाई लक्षित गर्दै दिल्लीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। लालकिल्ला आसपास १,००० भन्दा बढी एआईमा आधारित सीसीटीभी क्यामेरा जडान गरिएको छ। सुरक्षा निकायले उच्च निगरानीसँगै विभिन्न स्थानमा मोक ड्रिलसमेत सञ्चालन गरेका छन्। समारोहलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।







