काठमाडौँ। प्रकृति र सूर्यदेवको आराधना गरी मनाइने तराईवासीको महान् पर्व छठ आज विधिपूर्वक हर्षोल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधान रहेको छ।

पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उनीहरूको गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको र त्यसै समयदेखि छठ मनाउने परम्पराको थालनी भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराण अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्न सर्वप्रथम यो व्रत गरेको उल्लेख पाइन्छ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ९कार्तिक शुक्ल चतुर्थी० मा स्नान गरी एक छाक सात्विक भोजन खाने गरिन्छ। दोस्रो दिन पञ्चमीका दिन सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप ग्रहण गर्ने र नुन नखाई फलाहार बस्ने चलन छ।

आज कार्तिक शुक्ल षष्ठीको दिन बर्तालुहरू कठोर निराहार व्रत बसी नदी, पोखरी वा तलाउको किनारमा बनाईएको घाटमा जम्मा भई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन्।

षष्ठीको रातभर जाग्राम बसेर भोोलि बिहान ९कार्तिक शुक्ल सप्तमी० उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो कठिन पर्व सम्पन्न हुनेछ।

विसं २०४६ अघिसम्म तराई तथा मधेसका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले हाल आएर राष्ट्रिय तथा सांस्कृतिक पर्वको स्वरूप ग्रहण गरेको छ।

यसैबीच,राजधानी काठमाडौँ उपत्यकासहित देशैभरका नदी किनार तथा पोखरीहरूलाई सिंगारिएको छ। काठमाडौँको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, नागपोखरी, गहनापोखरी तथा बागमती, विष्णुमती र नख्खु नदी किनारमा छठ पूजाको भव्य तयारी गरिएको छ। सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको