काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वको अवसर पारेर जनकपुरधाम पुगेका छन् ।

शनिबार पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछाने आइतबार गंगासागर पोखरीमा आयोजित धार्मिक अनुष्ठान तथा पूजाअर्चनामा सहभागी भए । उनीसँग रास्वपाका सांसद मनिष झा र पुरुषोत्तम यादव पनि उपस्थित थिए ।

लामिछानेको जनकपुर भ्रमणलाई धार्मिक गतिविधिमा मात्रै सीमित गरेर हेर्न नसकिने राजनीतिक वृत्तमा चर्चा छ । मधेस प्रदेशमा पार्टीको सांगठनिक संरचना कमजोर र विवादग्रस्त बन्दै गएका बेला उनको यो भ्रमणलाई संगठनभित्रको असन्तुष्टि व्यवस्थापन तथा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।

छठकै अवसरमा सभामुख डिपी अर्याल पनि बाराको सिमरा पुगेका छन् । उनले जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको सद्भाव र सहअस्तित्व नेपालको विशिष्ट पहिचान भएको बताए ।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा पनि छठ मनाउन सर्लाही पुगेका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छठ पर्वले नेपाली समाजमा सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

‘छठले सबै नेपालीलाई सकारात्मक हुने प्रेरणा मिलोस् । यति धेरै नकारात्मकताले नेपाली समाज चल्न सक्दैन । त्यसैले नेपाललाई सकारात्मकता चाहिएको छ,’ थापाले भने ।

गत निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा आइतबार दिनभर सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ । पत्नी डा. अञ्जना केसी थापासहित मधेस पुगेका उनले सोमबार वीरगन्ज–१० स्थित घडिअर्वा घाटमा पूजाअर्चना गर्ने कार्यक्रम छ ।

त्यसपछि स्थानीयसँग अनौपचारिक संवाद, पार्टी कार्यकर्तासँग भेटघाट तथा पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

रास्वपाका सभापति लामिछानेको जनकपुर उपस्थितिलाई पार्टीको आन्तरिक राजनीतिको कोणबाट पनि अर्थपूर्ण मानिएको छ । मधेस प्रदेशमा पार्टीको संगठन विस्तार र नेतृत्व चयनको विषय लामो समयदेखि विवादमा छ ।

रास्वपाले मधेस प्रदेशका आठ जिल्लामा संगठनात्मक अधिवेशन सम्पन्न नगर्दै चितवनमा केन्द्रीय महाधिवेशन गरेको थियो । आठ जिल्लामध्ये पर्सामा मात्रै अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको थियो । अन्य जिल्लामा उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेपछि अधिवेशन स्थगित भएका थिए । पालिका तहका अधिवेशनसमेत विवादबाट मुक्त हुन सकेनन् ।

नियमित अधिवेशन हुन नसकेका ठाउँमा तदर्थ समितिका नेतृत्वबाट गरिएका सिफारिसका आधारमा केन्द्रीय महाधिवेशनका प्रतिनिधि चयन गरिएको थियो । यही प्रक्रियाले पार्टीभित्र असन्तुष्टि बढाएको थियो ।

असारमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर सबैभन्दा बढी विवाद मधेसमै देखिएको थियो । मधेसका प्रतिनिधि टुंगो लगाउन नसक्दा महाधिवेशनको मतदान प्रक्रिया नै एक दिन ढिलो सुरु भएको थियो ।

सांगठनिक संरचनामा देखिएको यही समस्यालाई सम्बोधन गर्न लामिछानेले मधेसमा अधिवेशनको वातावरण बनाउने प्रयास गरेका थिए । तर उनी आफैं जिल्ला भ्रमणमा निस्किएनन् । बरु पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिने क्रममा मधेसको संगठनात्मक अवस्थाबारे चासो राखेका थिए ।

मधेसमा संगठनात्मक विवाद चर्किएपछि लामिछानेले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेस अडिट’ समिति गठन गरेका थिए । समितिमा प्रमोद न्यौपाने, पुनम अग्रवाल, जगदिश खरेल, सुरेन्द्र चौधरी र अशोक चौधरी सदस्य थिए ।

समितिले आफ्नो अध्ययन प्रतिवेदन पार्टी केन्द्रीय समितिमा बुझाइसकेको छ । प्रतिवेदनले पालिका, जिल्ला र प्रदेश तहका समितिहरूले पार्टीको निर्धारित विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरेको निष्कर्ष निकालेको बताइएको छ ।

विधि मिचेर गरिएका अधिवेशन खारेज गरी आपसी सहमतिका आधारमा नयाँ तदर्थ समिति गठन गर्न समितिले सुझाव दिएको छ । समितिकी सदस्य पुनम अग्रवालका अनुसार मधेसका आठवटै जिल्लामा मिल्दोजुल्दो प्रकृतिका समस्या छन् ।

स्थानीय तथा प्रदेश तहका पदाधिकारीले संगठनमा आफूअनुकूलका व्यक्तिलाई जिम्मेवारी दिन खोज्नु, सांसदहरूले समेत संगठनमा कसलाई राख्ने भन्ने विषयमा चासो देखाउनु र पुराना तथा नयाँ सदस्यबीचको द्वन्द्वले समस्या बढाएको मधेसका नेताहरूको भनाइ छ ।

विभिन्न राजनीतिक दलबाट आएका नेता तथा कार्यकर्ताहरू एउटै पार्टीमा समाहित हुँदा पनि आपसी अविश्वास र प्रतिस्पर्धा बढेको देखिन्छ । अवसरको खोजीमा रास्वपा प्रवेश गरेका स्थानीय नेताहरूबीच जिम्मेवारी र प्रभावका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्न पार्टी नेतृत्व असफल भएको विश्लेषण गरिएको छ ।

स्थानीय तहदेखि प्रदेशसम्म चुनाव लड्ने आकांक्षीको संख्या बढ्नु पनि विवादको अर्को कारण बनेको छ । उम्मेदवार छनोटका लागि पार्टीसँग निश्चित विधि भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र व्याख्या हुन नसकेको अध्ययन टोलीको निष्कर्ष छ ।

मधेसमा रास्वपाको सांगठनिक समस्या देखिनुको अर्को कारण पार्टीभित्र विकसित हुँदै गएको रवि-बालेन समूहबीचको शक्ति प्रतिस्पर्धालाई पनि मानिएको छ ।

पार्टीका पुराना कार्यकर्तामध्ये लामिछानेनिकटको संख्या बढी रहेको बताइन्छ । पछिल्लो निर्वाचनको मुखमा रास्वपामा प्रवेश गरेका नयाँ सदस्यहरूमध्ये ठूलो हिस्सा प्रधानमन्त्री बालेन शाहनिकट रहेको राजनीतिक वृत्तको बुझाइ छ ।

यसले मधेसको संगठनमा कसको प्रभाव बलियो बनाउने भन्ने प्रतिस्पर्धालाई थप चर्काएको छ । दुवै पक्षका समर्थकले संगठनभित्र आफ्नो पकड स्थापित गर्न खोज्दा पुराना र नयाँ कार्यकर्ताबीचको दूरीसमेत बढेको देखिन्छ ।

यही परिस्थितिमा लामिछानेले आफू निकट मानिने पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिएका छन् । यसलाई मधेस प्रदेशमा संस्थापन पक्षको प्रभाव बलियो बनाउने रणनीतिका रूपमा पनि व्याख्या गरिएको छ ।

पहिले तय भएको मधेस भ्रमण स्थगित गरेका लामिछाने अहिले छठ पर्वको अवसर पारेर जनकपुर पुगेका छन् । धार्मिक पर्वमा सहभागितासँगै उनले मधेसको राजनीतिक तथा सांगठनिक अवस्था बुझ्ने र स्थानीय कार्यकर्तामाझ आफ्नो उपस्थिति बलियो बनाउने अवसर खोजेको विश्लेषण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको