राजविराज । लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट सफाइ पाइसकेको दाबी गर्दै अंकित रुंगटाले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमा प्रतिशोधपूर्ण ढंगले आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। अर्कोतर्फ, राजेन्द्र कुमार रुंगटाले राजविराजलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले पैतृक जग्गा एकीकरण गरिएको स्पष्ट पारेका छन्।
पछिल्लो समय रुंगटा परिवार लेनदेनसम्बन्धी विवाद, परिवारका सदस्यको नागरिकता तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोप र राजविराजस्थित जग्गा एकीकरणको विषयलाई लिएर चर्चामा छ। यसैबीच परिवारका सदस्यहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्दै आरोपको प्रतिवाद गरेका हुन्।
राजेन्द्र कुमार रुंगटाका छोरा अंकित रुंगटाले टेलिफोनिक अन्तर्वार्ताका क्रममा अदालतबाट आफूले सफाइ पाइसकेको अवस्थामा समेत केही व्यक्तिले व्यक्तिगत प्रतिशोध साँधेर सामाजिक सञ्जालमा विभिन्न आरोप लगाउने गरेको बताएका छन्।
उनका अनुसार अदालतको आदेश र कानुनी प्रक्रियाको सम्मान गर्नुको सट्टा आफू तथा परिवारको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले निरन्तर आरोप लगाउने काम भइरहेको छ।
‘अदालतबाट सफाइ पाइसकेको अवस्थामा पनि सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको छ। यस्तो कार्य अब सहन सकिँदैन। चरित्र हत्या गर्नेहरूविरुद्ध कानुनी ढोका ढकढक्याउनेछु,’ अंकितले भने।
समाजसेवामा सक्रिय तथा राजविराजको सामाजिक क्षेत्रमा परिचित अंकित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट रहेको सन्दर्भसमेत सार्वजनिक चर्चामा छ। उनले व्यक्तिगत प्रतिशोधका आधारमा आफू र परिवारलाई निशाना बनाउने गतिविधिप्रति आपत्ति जनाएका छन्।
राजविराजलाई व्यापारिक हब बनाउने योजनासहित जग्गा एकीकरण
यसैबीच राजविराज नगरपालिका–२ निवासी राजेन्द्र कुमार रुंगटाले आफ्नो पैतृक जग्गालाई व्यवस्थित गर्दै राजविराजलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने अवधारणासहित जग्गा एकीकरण गरिएको बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले ग्रण्ड नेपाल रियल स्टेट प्रालिसँग कानुनी सम्झौता गरी नयाँ बजारको अवधारणाअनुसार विभिन्न कित्तामा रहेका जग्गालाई एकीकृत गरिएको जानकारी दिएका छन्।
राजविराज नगरपालिका–२ स्थित आफ्नो जग्गाको किसिम परिवर्तन गरी प्लटिङ गरेर बिक्री गर्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि उनले त्यसबारे स्पष्टीकरण दिएका हुन्।
‘कानुनी प्रक्रियाअनुसार विभिन्न कित्तामा रहेको जग्गालाई एकीकृत गराइएको सन्दर्भमा विभिन्न प्रकारका भ्रम सिर्जना गरिँदैछन्। यसतर्फ सप्तरीवासीको ध्यानाकर्षणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ।
उनले जग्गा एकीकरणलाई व्यक्तिगत जग्गा व्यवस्थापनको विषय मात्र नभई राजविराज शहरलाई नयाँ ऊर्जा प्रदान गर्ने र व्यापारिक गतिविधि विस्तार गर्ने अवधारणासँग जोडेर व्याख्या गरेका छन्।
चार पुस्तादेखि राजविराजसँग जोडिएको रुंगटा परिवार
राजेन्द्र रुंगटाले आफ्नो परिवारको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै रुंगटा परिवार चार पुस्तादेखि राजविराजको सामाजिक तथा आर्थिक जीवनसँग जोडिएको बताएका छन्।
उनका अनुसार राणाशासनकालमा हनुमाननगर हुँदै विक्रम संवत् १९९८ सालमा ६० बिघा क्षेत्रफलभित्र जग्गा उपलब्ध गराएर रुंगटा परिवारलाई राजविराजमा बसोबास गराइएको थियो।
उनका पिता स्वर्गीय गोविन्दराम रुंगटा तत्कालीन समयका स्थापित उद्योगी तथा चर्चित समाजसेवी रहेको उनले स्मरण गरेका छन्। रुंगटा परिवार राजविराजस्थित पविमावि, केअमावि तथा जिल्ला व्यापार संघको संस्थापकसमेत रहेको उनको भनाइ छ।
पछिल्लो समय परिस्थितिवश परिवारका सदस्यहरू राजविराज र हनुमाननगरबाट भौतिक रूपमा टाढा बस्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसलाई परिवारको स्थानीय सम्बन्ध र पहिचानसँग जोडेर गलत व्याख्या नगर्न आग्रह गरेका छन्।
‘जीवनमा यस्ता कठिन समयहरू पनि आउँछन्, जतिबेला हामी भावनात्मक रूपमा कठोर बनेर पनि केही निर्णयहरू लिनुपर्ने हुन्छ। तर के हामी भौतिक रूपमा थोरै टाढिँदैमा गैरनागरिक भयौँ त ?’ उनले प्रश्न गरेका छन्।
राजविराजको समाजसँग चार पुस्तादेखि जोडिएको परिवारलाई भौतिक दूरीकै आधारमा गैरनागरिकका रूपमा व्याख्या गर्न मिल्ने वा नमिल्ने भन्दै उनले आफ्नो ऐतिहासिक तथा सामाजिक सम्बन्धको स्मरण गराएका छन्।
केही दिनयता रुंगटा परिवारका सदस्यहरू दुई देशको नागरिक रहेको भन्ने समाचारसमेत सञ्चारमाध्यममा सार्वजनिक भएका थिए। उक्त विषयमा पनि राजेन्द्रले परिवारको ऐतिहासिक पृष्ठभूमि र राजविराजसँगको सम्बन्धलाई अघि सार्दै आफ्नो धारणा राखेका छन्।
विवादबीच परिवारको प्रतिवाद, थप तथ्य सार्वजनिक हुन बाँकी
रुंगटा परिवारले सार्वजनिक गरेको पछिल्लो धारणाले विवादका दुई फरक पक्षलाई फेरि चर्चामा ल्याएको छ। एकातिर अंकित रुंगटाले अदालतबाट सफाइ पाइसकेको दाबी गर्दै सामाजिक सञ्जालमा भइरहेको भनिएको चरित्र हत्या रोक्न कानुनी उपचार खोज्ने बताएका छन् भने अर्कोतर्फ राजेन्द्र रुंगटाले पैतृक जग्गा एकीकरणलाई राजविराजको व्यापारिक विकाससँग जोडेर आफ्नो पक्ष स्पष्ट पारेका छन्।
यद्यपि, अंकितले उल्लेख गरेको अदालतको आदेशको आधिकारिक विवरण, जग्गा एकीकरण प्रक्रियाको कानुनी अवस्था तथा परिवारका सदस्यको नागरिकतासम्बन्धी विवादमा सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। विवादसँग जोडिएका अन्य पक्षको प्रतिक्रिया पनि आउन बाँकी छ।







