जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पार्टीका मधेश प्रदेश सभापति तपेश्वर यादवबीच पारिवारिक भेटघाट भएको छ।
छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने र उनकी पत्नी निकिता पौडेलले मधेश प्रदेश सभापति यादव तथा उनकी पत्नी रोसनी यादवसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा मधेश प्रदेशको धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परा, छठ पर्वको महत्त्व र मधेशको मौलिक पहिचानका विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार, संगठनात्मक सुदृढीकरण तथा पार्टीलाई प्रदेश र स्थानीय तहसम्म थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
पारिवारिक वातावरणमा भएको उक्त भेटघाटले पार्टी नेतृत्वबीचको आपसी सम्बन्ध र मधेशमा संगठन निर्माणप्रतिको चासोलाई समेत प्रतिबिम्बित गरेको छ।







