काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणबारे विशेष छलफल भएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत दलेलाले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा गृहकार्य गरिरहेको बताएका थिए ।
भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।







