सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित श्मशान घाटमा निर्माण गरिएका छठघाटका संरचना तोडफोड भएको घटनाप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  तथा  सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य इञ्जिनियर दीपककुमार साहले गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सांसद साहले जिल्ला प्रहरी प्रमुख (एसपी) सँग संवाद गरी घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न र संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका थिए। साथै, प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका थिए।

घटनापछि रातभर सुरक्षा परिचालन गरी दुई जनालाई नियन्त्रणमा लिन सफल भएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बललाई धन्यवाद दिएका छन्।

त्यसैगरी, प्रहरी प्रशासन तथा स्थानीय हिन्दू र मुस्लिम समुदायबीचको आपसी सहकार्य र सद्भावका कारण तोडफोड भएका छठघाटका संरचना पुनर्निर्माण गरी छठ पर्व मनाउने वातावरण बनेको भन्दै सांसद साहले प्रशंसा गरेका छन्।

सांसद साहले घटनाको निष्पक्ष अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरूको मोबाइल फोन तथा अन्य डिजिटल उपकरणको आवश्यकताअनुसार कानुनी प्रक्रियाबाट फरेन्सिक परीक्षण गर्नुपर्नेमा जोड दिएका छन्। डिजिटल प्रमाणको वैज्ञानिक परीक्षणबाट घटनासँग सम्बन्धित तथ्य र संलग्न व्यक्तिहरूको पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ छ।

घुस्कीस्थित मन्दिरमा केही दिनअघि मूर्ति तोडफोड भएको र त्यसलगत्तै छठघाटका संरचनामा क्षति पुर्‍याइएको घटनालाई उनले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। दुवै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग उनले माग गरेका छन्।

धार्मिक आस्था र सांस्कृतिक सम्पदामाथि हुने यस्ता आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै सांसद साहले धार्मिक स्वतन्त्रता, आस्था र सनातन संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।

उनले सुनसरी क्षेत्र नम्बर–४ लगायत जिल्लाभर धार्मिक सद्भाव, शान्ति र सहअस्तित्व कायम राख्न तथा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनसमेत आग्रह गरेका छन्।

सांसद साहका निजी सचिवालय प्रमुख त्रिलोकनाथ गुप्ताद्वारा कात्तिक ३० गते जारी प्रेस विज्ञप्तिमा घटनामा संलग्न सबै दोषीको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ। साथै, संवेदनशील परिस्थितिमा संयमता, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न स्थानीय बासिन्दा, हिन्दू तथा मुस्लिम समुदाय र सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको