पूर्वसांसद विदेश्वर प्रसाद यादव (विक्की) को प्रश्न– मधेसको अधिकार र पहिचान सुनिश्चित नगरी छठमा सहभागी हुनु मात्रै राजनीतिक प्रतिबद्धता हुन सक्दैन।
जनकपुरधाम । मधेसको सांस्कृतिक पहिचान, धार्मिक आस्था र राजनीतिक शक्तिको प्रतीकका रूपमा स्थापित छठ पर्व पछिल्लो समय राष्ट्रिय राजनीतिका शीर्ष नेताहरूका लागि पनि जनतासँग जोडिने महत्त्वपूर्ण अवसर बन्दै गएको छ। यस वर्ष छठ पर्वको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी जनतालाई पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउन आह्वान गरेको सन्दर्भमा राष्ट्रिय राजनीतिका प्रमुख नेताहरूलाई छठ पर्वमा सहभागी हुन मधेस पठाइएको विषयले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।
प्रधानमन्त्री शाहको राजनीतिक वृत्तसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता गगन थापा, सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा कुलमान घिसिङलगायतका नेताहरूको छठ पर्वमा मधेस आगमनलाई लिएर पूर्वसांसद तथा मधेस प्रदेशका युवा नेता विदेश्वर प्रसाद यादव (विक्की) ले प्रश्न उठाएका छन्।
उनले यसलाई मधेसको सांस्कृतिक महत्त्व र राजनीतिक शक्तिको स्वीकारोक्तिका रूपमा हेर्न सकिने भए पनि यसको पछाडि धार्मिक आस्था मात्र नभई राजनीतिक स्वार्थ र मतदातालाई प्रभावित पार्ने रणनीति पनि हुन सक्ने टिप्पणी गरेका छन्।
यादवका अनुसार मधेसमा राष्ट्रिय स्तरका नेताहरूको छठ पर्वमा सहभागिता हुनु सकारात्मक सांस्कृतिक सद्भावको विषय हो। तर, पर्वमा सहभागी हुँदैमा मधेसको राजनीतिक अधिकार, पहिचान र सम्मान स्थापित भएको अर्थ लगाउन नहुने उनको धारणा छ।
उनले यस घटनाका दुईवटा राजनीतिक पक्ष औँल्याएका छन्।
पहिलो, मधेसको बढ्दो राजनीतिक शक्ति। राष्ट्रिय राजनीतिका शीर्ष नेताहरू मधेसको संस्कृति, जनमत र सामाजिक प्रभावलाई महत्त्व दिन बाध्य हुनु मधेसको राजनीतिक सामर्थ्य र राष्ट्रिय राजनीतिमा यसको बढ्दो प्रभावको संकेत भएको यादवको विश्लेषण छ।
दोस्रो, राजनीतिक स्वार्थ र आन्दोलनका मुद्दा ओझेलमा पर्ने जोखिम। छठ पर्वमा सहभागी भएर जनताको धार्मिक आस्था र भावनासँग जोडिनु तथा मधेसका वास्तविक राजनीतिक माग सम्बोधन गर्नु दुई फरक विषय भएको उनको भनाइ छ। सांस्कृतिक सद्भावका नाममा मधेस आन्दोलनका मूल मुद्दा कमजोर पार्ने वा आन्दोलनको राजनीतिक उपलब्धिलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने प्रयास हुन सक्नेप्रति उनले सचेत गराएका छन्।
यादवले मधेसले राष्ट्रिय नेताहरूको स्वागत गर्नुपर्ने तर आफ्नो राजनीतिक मुद्दा र अधिकारको एजेन्डा कसैलाई सुम्पिन नहुने बताएका छन्।
उनका अनुसार मधेसलाई छठको प्रसाद र सांस्कृतिक सद्भावसँगै समान अधिकार, पहिचान, सम्मान, राजनीतिक प्रतिनिधित्व तथा बलियो संघीयताको पूर्ण कार्यान्वयन आवश्यक छ।
“मधेसको संस्कृति सबैको साझा हुन सक्छ, तर मधेसको अधिकार मधेसकै राजनीतिक प्राथमिकता हुनुपर्छ,” यादवको राजनीतिक सन्देश छ।
छठ पर्वको धार्मिक आस्था र सांस्कृतिक एकताबीच राष्ट्रिय नेताहरूको मधेस उपस्थितिले एउटा महत्त्वपूर्ण प्रश्न भने खडा गरेको छ– मधेसलाई सांस्कृतिक रूपमा आत्मसात् गर्ने राजनीतिक नेतृत्वले मधेसका अधिकार, पहिचान र संघीयताका सवालमा पनि त्यत्तिकै इमानदार प्रतिबद्धता देखाउन सक्छ कि सक्दैन?







