वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले वीरगन्जमा पनि आएर छठी माईको पूजाअर्चना गरेका छन् ।सोमबार बिहान पत्नी अञ्जना केसीसँगै वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा पुगेर थापाले व्रतालु महिलाहरूसँगै छठी माईको पूजाअर्चना गरेका हुन् । त्यस क्रममा थापा दम्पतीले छठका व्रतालुहरूबाट टीका लगाएर आशीर्वाद ग्रहण पनि गरे ।
त्यसअघि थापा दम्पतीले घडिअर्वा छठघाट परिसरमै रहेको सूर्य भगवान्को मन्दिरमा पनि पुगेर पूजाअर्चना गरेका थिए । मन्दिर परिसरमै घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले सभापति थापालाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
छठघाटमा सभापति थापासँगै कांग्रेस सहमहामन्त्री अजय चौरसिया, मधेश प्रदेश सरकारका पूर्वमन्त्रीहरू ओमप्रकाश शर्मा र जनार्दन सिंह क्षेत्री, कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, उपसभापति अशोक गुप्ता, वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमलगायत नेताहरू पनि पुगेका थिए ।
आइतबार छठ मनाउन सर्लाही पुगेका सभापति थापा साँझ त्यहाँको छठघाटमा पूजा गरेर आइतबार नै राति बास बस्न वीरगन्ज आइपुगेका थिए ।यसैगरी आइतबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पनि वीरगन्जका विभिन्न स्थानका छठघाटहरूमा पुगेर पूजाअर्चना गरेका थिए ।







