काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिस्टर अशोक कुमार साहले छठ पर्वका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले देखाएको धार्मिक आस्था र सांस्कृतिक सहभागितालाई सकारात्मक र स्वागतयोग्य भन्दै नेपालको हिन्दु राष्ट्रको ऐतिहासिक पहिचान पुनःस्थापनाका लागि राष्ट्रिय बहस सुरु गर्न माग गरेका छन्।
यस वर्षको महान् छठ पर्वका अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सभामुख डोलप्रसाद (डीपी) अर्याललगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सर्लाही, जनकपुरधामलगायत स्थानमा पुगेर छठी माताको आराधना तथा पूजाअर्चनामा सहभागी भएको प्रसंग समाजिक संजालमा उल्लेख गर्दै साहले नेताहरूको यस प्रकारको सहभागिता प्रशंसनीय रहेको बताएका छन्।
नेताहरू छठ घाटमा पुगेर श्रद्धा प्रकट गर्नु, स्थानीय समुदायसँग भेटघाट गर्नु तथा छठ पूजाका लागि आवश्यक दाउरा बोकेर जनताको धार्मिक आस्था र परम्परासँग जोडिनु सकारात्मक अभ्यास भएको उनको भनाइ छ।
तर, राजनीतिक नेतृत्वले धार्मिक तथा सांस्कृतिक परम्पराप्रति देखाएको सम्मान पर्व र सार्वजनिक सहभागितामा मात्र सीमित हुन नहुने साहको तर्क छ। शीर्ष नेताहरूमा नेपालको सनातन धर्म, संस्कृति र परम्पराप्रति आस्था तथा सम्मान देखिएको अवस्थामा नेपालको ऐतिहासिक पहिचान पुनःस्थापनाका विषयमा पनि गम्भीर हुनुपर्ने उनले बताएका छन्।
नेपाल हजारौँ वर्ष पुरानो सनातन सभ्यता, वेद, उपनिषद्, ऋषिमुनि तथा धार्मिक-सांस्कृतिक परम्परासँग जोडिएको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै साहले नेपालको मौलिक पहिचानको संरक्षण आवश्यक रहेको बताएका छन्।
नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले हिन्दु, बौद्ध, मुस्लिम, किराँत, इसाईलगायत सबै धर्मावलम्बीको आस्था, धार्मिक स्वतन्त्रता र अधिकारको समान सम्मान हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।
साहले आगामी संसद्बाटै हिन्दु राष्ट्र पुनःस्थापनाको विषयमा गम्भीर राष्ट्रिय बहस सुरु गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन्।
‘धर्मलाई केवल पर्व, मेला, घाट र फोटोमा सीमित नराखौँ। धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई राष्ट्रिय नीति र व्यवहारमा समेत प्रतिबिम्बित गरौँ,’ उनको सन्देश छ।
छठ घाटमा पुगेर दाउरा बोक्नु जनताको आस्थाप्रतिको सम्मान भएको उल्लेख गर्दै साहले अब नेपालको हजारौँ वर्ष पुरानो सनातन पहिचानको संरक्षण गर्ने जिम्मेवारी पनि राजनीतिक नेतृत्वले लिनुपर्ने बताएका छन्।
उनले हिन्दु राष्ट्रको पक्षमा दृढ आवाज उठाउँदै सबै धर्मप्रतिको सम्मान, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई साझा संकल्प बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।







