नयाँ दिल्ली । भारतको जम्मु-कश्मीरस्थित कुलगाम जिल्लामा सुरक्षा बलले सञ्चालन गरेको संयुक्त कारबाहीमा लस्कर-ए-तैयबा (एलईटी) का कमान्डर मोहम्मद लतिफ भट मारिएका छन्। उनलाई जम्मु-कश्मीर उपत्यकामा सक्रिय लस्करका अन्तिम स्थानीय आतङ्कवादीका रूपमा चित्रण गर्दै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सुरक्षा बलको समन्वयात्मक कारबाहीको प्रशंसा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री शाहले जम्मु-कश्मीर प्रहरी, भारतीय सेना, केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) तथा गुप्तचर निकायका सुरक्षाकर्मीहरूको साहस र समन्वयको प्रशंसा गरेका हुन्।

उनले भनेका छन्, “राष्ट्रले जम्मु-कश्मीर प्रहरी, सेना, सीआरपीएफ र गुप्तचर निकायका वीर जवानहरूलाई सलाम गर्दछ।”

शाहका अनुसार सुरक्षा निकायहरूको संयुक्त प्रयासमा बुधबार बिहान कुलगाममा सञ्चालन गरिएको कारबाहीमा लस्कर-ए-तैयबाका अन्तिम सक्रिय स्थानीय कमान्डर लतिफ भट मारिएका हुन्। यसअघि सोमबार सोही जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा उनका सहयोगी आतङ्कवादी उमर निसार दार पनि मारिएका थिए।

प्रहरी स्रोतका अनुसार सुरक्षा बलले घेराबन्दी गरेपछि लतिफ भट एउटा मस्जिदभित्र लुकेका थिए। उनलाई पटक-पटक आत्मसमर्पण गर्न आग्रह गरिए पनि उनले अस्वीकार गरेका थिए। कारबाहीका क्रममा मस्जिदमा कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ।

कश्मीर जोन प्रहरीले एक्समार्फत मुठभेडस्थलबाट लतिफ भटको शव र एउटा हतियार बरामद भएको जानकारी दिएको छ। प्रहरीका अनुसार भट कुलगामको ख्रेवान निवासी मोहम्मद लतिफ भट हुन्।

यसैबीच, सोमबार मारिएका उमर निसार दारले गत नोभेम्बर १० मा सीआरपीएफका जवानहरूलाई लक्षित गरी आक्रमण गर्नुअघि लतिफ भटसँग मिलेर विभिन्न स्थानमा रेकी गरेको खुलेको छ।

जम्मु-कश्मीर प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजअनुसार उनीहरूले मिर बार, अखरान, हब्लिस र किलाम क्षेत्रमा सुरक्षा बलको गतिविधि तथा सम्भावित आक्रमणस्थलको निरीक्षण गरेका थिए। आक्रमणको योजना बनाउन र सुरक्षा बललाई निशाना पहिचान गर्न उनीहरूले ती स्थानमा रेकी गरेको प्रहरीको दाबी छ।

गृहमन्त्री शाहले यस कारबाहीलाई सुरक्षा निकायबीचको उच्चस्तरीय समन्वयको उदाहरणका रूपमा व्याख्या गरेका छन्। पछिल्लो कारबाहीले जम्मु-कश्मीरमा सक्रिय स्थानीय आतङ्कवादी सञ्जालविरुद्ध सुरक्षा बलको अभियानमा महत्वपूर्ण सफलता मिलेको भारतीय पक्षको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको