काठमाडौं । वदिं लगाएर भारतीय सवारी प्रयोग गरेको र स्थानीयसँग विवाद गरेको आरोपमा सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् ।
डिएसपी हमाल सशस्त्र प्रहरी बल माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए । उनी सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी हेडक्वाटर तानिएका हुन् ।
स्थानीयसँगको विवाद गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग लगायतका विषयमा छानबिनका लागि उनलाई बाहिनी तानिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो ।
सोही विवादका क्रममा डिएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएका थिए । आक्रोशित हमलले स्थानीयलाई ‘तिमीहरु तस्कर हौ’ भनेपछि विवाद भएको थियो ।
सशस्त्र प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै प्रतिवाद उत्रिएका स्थानीयले ‘भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने तपाईं तस्कर होइन, अनि हामी कसरी तस्कर ?’ भन्दै प्रश्न गरेको सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुनिन्छ ।
भिडियोमा डिएसपी हमालले बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा चलाएको देखिन्छ । विवादपछि घटनास्थल पुगेका सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवले स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानूनी भएको बताए ।
उनले प्रहरीको पोशाकमा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरी नागरिकलाई त्रसित पार्ने काम स्वीकार्य नभएको भन्दै घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको