
काठमाडौं । राप्रपामा अध्यक्षका लागि भएको सहमति भंग भएको छ । राप्रपाका शीर्ष नेताबीच एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति भएतापनी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताए । उनले पार्टी अध्यक्षमा आफू उठ्ने संकेत गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा पार्टीको विधानप्रति असन्तुष्टि जनाइएको छ भने लोहोनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएकाले आफूलाई सहयोग गर्न समेत नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो ।
पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै लोहनीले सहमतिको औचित्य नभएको तर्क गरेका हुन् । नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख छ ।
आफ्नो सहमति बेगर कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका हुन् ।
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो । उता भारतीय जनता पार्टीका नेता विजय जोलीले अध्यक्षमा कमल थापा सर्वसम्मत गराउने सहमती भएको भन्दै बधाई तथा शुभकामना दिएको थापा निकटतम स्रोत बताउँछ ।
यसरी लोहोनी सहमतीको भंग गरेपछि राप्रपा विवाद झन उत्कर्षमा पुगेको प्रष्ट देखिन्छ भने भारतीय नेता जोलीले पठाएको शुभकामना कागजमै सिमित रहने देखिन्छ ।