राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकमाथि अस्पतालकै कर्मचारीले हातपात र गालीगलौज गरेको घटना सार्वजनिक भएको छ।
असोज २ गते राति राजविराज–८ स्थित ग्रिन गार्डेन रिसोर्ट एन्ड पार्टी प्यालेसमा खाजा खाने क्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झासहितका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको चिकित्सकहरूले बताएका छन्। घटनाका क्रममा मेसु झालाई ज्यान मार्ने धम्कीसम्म दिइएको उनीहरूको दाबी छ।
चिकित्सकहरूले संयुक्त रूपमा दिएको निवेदनअनुसार सो क्रममा अम्मर यादवले मेसु डा. झालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि अस्पतालका कर्मचारी नारायणकुमार यादवसहित अम्मर यादव, विब्लु यादव र दिनेश मण्डलले आफूहरूमाथि हातपात गरेको निवेदनमा उल्लेख छ।
घटनापछि चिकित्सकहरूले अस्पतालभित्रै आफूहरूको सुरक्षा चुनौतीमा परेको भन्दै नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिन अवस्था सिर्जना भएको बताएका छन्। स्वास्थ्यकर्मीमाथि हुने हातपात, धम्की र दुर्व्यवहारलाई सामान्य विवादका रूपमा नलिई घटनाको निष्पक्ष अनुसन्धान गर्न उनीहरूले माग गरेका छन्।
चिकित्सकहरूले घटनामा संलग्न भनिएका सबै व्यक्तिको भूमिकामाथि छानबिन गरी दोषी पाइए प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, अस्पतालका ल्याब इन्चार्जको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउन उनीहरूको माग छ।
घटनाबारे जानकारी गराउँदै चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला प्रहरी कार्यालय सप्तरी तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारलाई संयुक्त निवेदनको बोधार्थ पठाएका छन्।
यद्यपि घटनामा आरोपित कर्मचारी तथा अन्य व्यक्तिको पक्षबाट हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट समेत घटनाको अनुसन्धान तथा कारबाहीबारे औपचारिक धारणा सार्वजनिक भएको छैन।








