राजविराज । सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लालु प्रसाद अग्रवालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक सतिश दत्तका अनुसार वाणिज्य उपाध्यक्ष र महासचिव पदमा भने दुई–दुई जनाको उम्मेदवारी परेको छ। वाणिज्य उपाध्यक्षमा अमृत कुमार सञ्चेती र रामअशिष प्रसाद साह तथा महासचिवमा भोगेन्द्र मिश्र र सुरेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन्।
यस्तै, सचिव पदमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्धडाको उम्मेदवारी परेको छ।
उम्मेदवारविरुद्ध दाबी–विरोध तथा उम्मेदवारी फिर्ताका लागि भोलिको समय तोकिएको निर्वाचन समितिले जनाएको छ। दाबी–विरोध नपरेमा र उम्मेदवारी फिर्ता नभए एकल उम्मेदवार रहेका पदमा सर्वसम्मत घोषणा गरिने संयोजक दत्तले बताए।
सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज १० गते निर्वाचन हुँदैछ। 







