शल्यक्रियापछि सुत्केरीको मृत्यु, सप्तरीको धर्मेश्वर अस्पतालमा आफन्तको प्रदर्शन
२०८३ आश्विन ५, सोमबार १४:३५
राजविराज । शल्यक्रियामार्फत छोरी जन्माएकी सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५, बकधुवाकी २८ वर्षीया निर्मला चौधरीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा प्रदर्शन गरेका छन्।
कञ्चनरूप नगरपालिका–१२, सिमरास्थित धर्मेश्वर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण निर्मलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले सोमबार अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
अमितकुमार चौधरीकी श्रीमती निर्मलालाई प्रसव बेथा लागेपछि गत बिहीबार राति धर्मेश्वर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा शुक्रबार शल्यक्रिया गरी उनले छोरी जन्माएकी थिइन्। तर, शल्यक्रियापछि निर्मलाको अत्यधिक रक्तस्राव भएको परिवारको भनाइ छ।
निर्मलाका श्रीमान् अमितका अनुसार रक्तस्राव नरोकिएपछि तत्कालै अन्य अस्पताल लैजान खोजिए पनि अस्पतालका स्वास्थ्यकर्मीले त्यहीँ उपचार गर्दा ठीक हुने भन्दै बाहिर लैजान नदिएको आरोप छ।
‘तत्कालै हामीले बाहिर लैजान खोज्यौं, तर स्वास्थ्यकर्मीले यतै ठीक भइहाल्छ भन्नुभयो,’ अमितले भने, ‘दिनभर पनि रगत बग्न नरोकिएपछि अस्पतालको कुरा सुन्न छाडेर निर्मलालाई बाहिर लैजाँदासम्म ढिलो भइसकेको थियो।’
स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले शुक्रबार साँझ निर्मलालाई राजविराजस्थित छिन्नमस्ता अस्पताल लगेका थिए। त्यहाँ उपचारपछि थप उपचारका लागि शनिबार विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति निर्मलाको मृत्यु भएको परिवारले जनाएको छ।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले धर्मेश्वर अस्पतालमा प्रदर्शन गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले प्रदर्शनपछि अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको जानकारी दिए।
‘अहिले अवस्था सामान्य छ,’ डीएसपी घिमिरेले भने, ‘सुत्केरीको मृत्युको वास्तविक कारण भने सम्बन्धित निकायबाट छानबिन भएपछि मात्र यकिन हुन्छ।’
निर्मलाको मृत्यु चिकित्सकीय लापरबाहीकै कारण भएको हो वा अन्य स्वास्थ्य जटिलताका कारण भन्ने विषय भने छानबिनपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।