राजविराज । प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले सुनसरीको देवानगञ्ज र गोलबजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई न्याय दिलाउन तथा आन्दोलनरत पक्षसँग तत्काल संवादको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

शनिबार जारी प्रेस विज्ञप्तिमार्फत सिंहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव तेस्रो दिनदेखि आमरण अनशनमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा नागरिकले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने संवैधानिक अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले अनशनरतको स्वास्थ्य अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

पूर्वमुख्यमन्त्री सिंहले कुनै पनि समस्याको समाधान संवाद, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सरकारलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न, पीडितलाई न्याय दिलाउन र आन्दोलनरत पक्षसँग अविलम्ब वार्ता गरी समाधानको पहल गर्न आग्रह गरेका छन्।

उनले लोकतान्त्रिक व्यवस्थामा उठाइएका मागहरू संविधान, कानुन र राष्ट्रिय हितको परिप्रेक्ष्यमा सम्बोधन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै अनशन लम्बिँदै जाँदा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति समेत सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

सिंहले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक लोकतान्त्रिक मुलुक भएकाले हिंसा, सामाजिक द्वन्द्व वा साम्प्रदायिक तनावभन्दा माथि उठेर न्याय, कानुनको शासन र आपसी सद्भावलाई सुदृढ बनाउने दिशामा राज्य अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको