जनकपुरधाम ।  सरकारसँग सहमति भएको भन्ने प्रचारकोले खण्डन गर्दै बन्दसहितका पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम यथावत् रहने जनाएको छ।

शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा सरकार र हिन्दुवादी पक्षबीच भएको वार्तापछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले वार्ता सहमतिमा टुंगिएको बताएका थिए। तर हिन्दु सम्राट सेना नेपालले कुनै पनि औपचारिक सहमति नभएको स्पष्ट पारेको छ।

संगठनका महासचिव राकेश सनातनीले सरकारलाई बुझाइएको १५ बुँदे मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको आरोप लगाए। उनका अनुसार वार्ताका क्रममा कुनै सहमतिपत्रमा हस्ताक्षर नभएकाले आन्दोलनका कार्यक्रम फिर्ता नहुनेछन्।

उनले भने, “हामीले बुझाएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको हो। कुनै सहमति भएको छैन, त्यसैले बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत् रहन्छन्।”

महासचिव सनातनीले (रास्वपा) का केही नेता तथा कार्यकर्ताले सहमति भएको भन्दै भ्रामक प्रचार गरेको आरोपसमेत लगाए।

यता, वार्तामा सहभागी गृहमन्त्री सुधन गुरुङले सहमति भएको वा नभएको विषयमा स्पष्ट टिप्पणी गरेनन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशमा कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने उल्लेख गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई आग्रह गरे।

सरकार र संयुक्त हिन्दु मोर्चाबीच शनिबार दुई चरणमा वार्ता भएको थियो। पहिलो चरण दिउँसो २:३० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो भने दोस्रो चरण राति ८ बजेदेखि १० बजेसम्म मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा सम्पन्न भएको थियो।

वार्ता सम्पन्न भए पनि औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएको हिन्दु सम्राट सेना नेपालको दाबी छ। अर्कोतर्फ प्रमुख जिल्ला अधिकारी लुइँटेलले वार्ता सहमतिमा टुंगिएको बताएका छन्।

यससँगै वार्ताको परिणामबारे सरकार र आन्दोलनरत पक्षका सार्वजनिक भनाइ बाझिएका छन् भने सहमति भएको वा नभएको विषयमा अन्योल कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको