वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
सोमबार बिहान अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो।
बारा जिल्लामै दरबन्दी भएका विकले उक्त भिडियो आफ्ना साथीलाई म्यासेन्जरमा पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा भाइरल भएको अनुसन्धानबाट खुलेको छ। गोपनीयताको अधिकार हनन गरेको कसुरमा थप अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बयान दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको थियो।







