काठमाडौं । एकता महाधिवेशन सम्पन्न भएको एक साता नबित्दै राप्रपामा संकट सुरु भएको छ । महाधिवेशनमा राप्रपा नेपालका कमल थापाको पक्षमा एकलौटी परिणाम गएपछि पुरानो राप्रपा पक्षधरले अलग बाटो तय गर्ने भएको छ ।
सम्पन्न महाधिवेशनद्वारा निर्वाचित ९५ जना केन्द्रीय सदस्यमध्ये ६० जना कमल थापा पक्षका छन् भने १६ जना दिपक बोहोरा पक्षधर, पाँचजना डा. प्रकाशचन्द्र लोहनी पक्ष, चारजना पशुपतिशमशेर राणा पक्ष र १० जना तटस्थ छन् ।
अल्पमत पक्षलाई पेलेरै लैजाने संकेत नवनिर्वाचित अध्यक्ष थापाले गरेपछि पुरानो राप्रपा पक्षधरको दिनहुँजसो भेला हुने गरेको छ । आइतबार बिहान सम्पन्न भेलाले कुनै लो–प्रोफाइलको मान्छेलाई हलो चुनाव चिह्न हुने गरी छुट्टै राप्रपा दर्ता गराउने र आवश्यक परे त्यही पार्टीको ब्यानरमा आगामी स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहको निर्वाचन लड्ने निर्णय गरेको छ ।
तर तत्कालका लागि भने पार्टीभित्रै संघर्ष गर्ने गरी पूर्वकेन्द्रीय सदस्य महेश्वर रोकाको संयोजकत्वमा एक सय एक सदस्यीय राप्रपा सुदृढीकरण अभियान गठन गरिएको छ । ४३ जनाबाहेक अभियानका अन्य सदस्यको नाम गोप्य राखिएको संयोजक रोकाले बताए ।
उनका अनुसार सुदृढीकरण अभियानको राष्ट्रिय भेला आगामी चैत ४ र ५ गतेका लागि तय गरिएको छ । भेलामा वरिष्ठ नेता डा.लोहनी र राणा सहभागी हुने तय भइसके पनि लोकेन्द्रबहादुर चन्दको सहभागिताबारे तय नभइसकेको संयोजक रोकाले बताए ।
चुनाव हार्ने अनि पार्टी फोर्ने गर्न मिल्छ ? भन्ने प्रश्नमा रोकाले भने– ‘हामीले पार्टी फोर्न लागेको होइन, अध्यक्ष थापा सच्चिनुभयो भने पार्टी फुट्दैन, तर चुनावमा धाँधली र सेटिङ गरिएका कारण अध्यक्ष थापाप्रति अविश्वास सिर्जना भएको हो ,तरुणले उल्लेख गरेको छ ।’
कसरी धाँधली र सेटिङ भयो ? भन्ने प्रश्नमा उनले भने– ‘चुनावमा कर्मचारी र तस्करहरूको सेटिङ भएको सुनिएको थियो, तर राजनीतिमा पनि सेटिङ भयो, मण्डलेकरण भयो, जनाधार भएका र जिल्लामा स्थापित भएका नेताहरूलाई नंग्याइयो, वरिष्ठ हौं भन्नेहरू नै कमल थापासँग लम्पसार परे, अब कमल थापाले जस्तो व्यवहार गर्नु हुन्छ, हामी पनि त्यहीअनुसार अघि बढ्छौं ।’