संतोष चौधरी
राजविराज । नेपाल सरकारले आइतबार राति रक्षा बन्धन पर्व मनाउन तराई मधेशका २० जिल्लामा सोमबारका लागि सार्वजनिक विदा घोषणा गरेको छ । संघीय सरकारले रक्षा बन्धन पर्व मनाउन सोमबार सार्वजनिक विदा दिने वा नदिने विषयमा राति अबेरसम्म संशय बनेको थियो । तर बिहान प्रसारित समाचारहरूले उक्त संशय हट्यो । राजविराजस्थित कार्यालयहरूमा बिहान कर्मचारी तथा सेवाग्राहीहरू पनि देखिएका थिए । विदासम्बन्धी समाचार पर्याप्त मात्रामा प्रसारित हुन नसकेकोले कतिपय व्यक्ति कार्यालय चहारेर फर्केका थिए । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका सप्तरी अध्यक्ष अजय कुमार झाका अनुसार आइतबार राति अबेरसम्म विदा हुने स्पष्ट आइसकेको थिएन । “राति अबेरमा गृह मन्त्रालयको वेबसाइट लग–ईन गरें । तर विदा उल्लेख थिएन”, उहाँले भन्नुभयो, “सोमबार बिहान प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालजीसँग सोधें अनि उहाँले विदा दिइएको बताउनुभयो ।”
साउन महिनाको पूर्णिमा यो वर्ष यो महिनाको चौथो सोमबारको दिन परेको छ । साउने पूर्णिमा जनै पूर्णिमा, रक्षा बन्धन र झूलनोत्सवको रूपमा विशेष आलंकारिक पूर्णिमा हो । त्यसमा पनि यो पूर्णिमामा चन्द्र ग्रहणको योग छ । २३–२४ साउन सोमबार–मंगलबारको मध्यरातमा चन्द्रग्रहण लाग्नेछ । रक्षा बन्धनको दिन चन्द्रगहण पर्नाले आम व्यक्ति यसको प्रभावमा परेका छन् । उनीहरूमा खासै उत्सुकता देखिएको छ । रक्षा बन्धनको दिन सरकारले सार्वजनिक सेवाको अवकास दिने परम्परा छ ।
तर यो वर्ष रक्षा बन्धनको दिन चन्द्र ग्रहण परेकोले साउन २३ गते पर्ने रक्षा बन्धनको विदा सरकारले साउन १३ गते नागपञ्चमीको दिन सारेको थियो । नागपञ्चमीमा विदा हुने गरेको थिएन । सरकारले साउने पूर्णिमाका दिन जनै पूर्णिमाको अर्थमा विदा दिँदै आएको थियो । जनै पूर्णिमा पहाड र मधेश दुवैमा र रक्षा बन्धन मधेशमा केवल मनाइने भएकाले विदाको मानेमा ठूलो भ्रम थियो । पहाड र तराईको सांस्कृतिक भिन्नताको परत अझै पनि राम्ररी नखुलिसकेको अवस्था विद्यमान छ ।
मधेशमा जनैपूर्णिमामा सीमित र रक्षा बन्धनमा सबै सहभागी हुने गरेका देखिन्छन् । यो पर्वको कनेक्सन आठ दिनपछि मनाइने श्री कृष्ण जन्माष्टमीसँग समेत रहेको छ । भगवान् श्री कृष्णको जन्म हुनु अगावै उनलाई ५ दिनसम्म झूलामा झूलाउने अनौठो संस्कृति यो पूर्णिमाको परिवेशमा लुकेको छ । सामेबार भूmलनोत्सव समेत सुरु भएको छ । यस प्रकार मधेशमा रक्षा बन्धनको विशिष्ट महत्व छ ।
मध्यदेशीय चाडपर्वहरू नेपाली पञ्चाङ्ग समितिको अनुसार नभई मिथिला पञ्चाङ्गको आधारमा मनाइने परम्परा छ । यसै कारणले फागु पर्व नेपालमा दुई दिन मनाइने गरेको हो । नेपाली पञ्चाङ्ग अनुसार अघिल्लो दिन काठमाडौं उपत्यकालगायत पहाडी इलाकामा र मिथिला पञ्चाङ्ग अनुसार पछिल्लो दिन तराई मधेश इलाकामा फागु पर्व मनाइन्छ । अघिल्लो दिन यहाँ होलिका दहन गरिन्छ, जो पहाडी इलाकाको फागु पर्वमा सामेल गरिएको छैन ।  फागु पर्वको सांस्कृतिक आख्यान भगवान् नरसिंहको अवतारसँग गाँसिएको छ ।
राजविराजस्थित मैथिली साहित्य परिषद्द्वारा प्रकाशित वार्षिक कैलेण्डरमा समेत चन्द्रग्रहणको योग भए पनि रक्षा बन्धन साउन २३ गते नै मनाइने उल्लेख छ । तर साउन २३ गते सार्वजनिक विदा नहुँदा तराई मधेशमा तीव्र प्रतिक्रिया उत्पन्न भएको थियो । उक्त प्रतिक्रिया स्वरूप मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष अशोक कुमार झाको नेतृत्वमा गएको एक टोलीले नेपाल सरकारको नामको विज्ञप्ति सप्तरी जिल्ला प्रशासन कार्यालयलाई साउन १२ गते नै बुझाएको थियो । पछि तराई मधेश राष्ट्रिय परिषद्द्वारा गृह मन्त्रालयमा रक्षाबन्धनको लागि श्रावण २३ गते सार्वजनिक विदा घोषणा गर्न समेत निवेदन दिइएको थियो ।
फलतः गृह मन्त्रालयले आइतबार राति मधेशका २० जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा घोषणा ग¥यो । यी जिल्लाहरूमा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् । सरकारले मकवानपुर र चितवनलाई तराईका जिल्लाहरूको सूचीभन्दा पर राख्दै आएको छ ।
तराई मधेश राष्ट्रिय परिषद्ले साउन २३ गते विदाका लागि पहल गरेकोमा तराई मधेश राष्ट्रिय परिषद्का सदस्यगणलगायत उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय कुमार गच्छदार, गृह मन्त्री जनार्दन शर्मा प्रभाकर, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्र नरायण देव, शहरी विकास मन्त्री प्रभु साह, जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीलाई धन्यवादज्ञापनसमेत गरेको छ । यसैगरी मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष झाले नेपाल सरकारले आफूहरूको विज्ञप्तिलाई समयमै नोटिसमा लिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको